देउवाको सम्बोधनपछि कांग्रेसको आगामी बाटो तय हुने

1.5k Shares

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र नेतृत्व तहमा बढ्दै गएको मतभेदबीच पार्टी फुट्ने वा एकताबद्ध भएर अघि बढ्ने भन्ने विषय पूर्वसभापति शेरबहादुर देउवाको धारणा आएपछि मात्रै स्पष्ट हुने नेताहरूले बताएका छन्।

कांग्रेस नेता रमेश लेखकले देउवा नेपाल फर्किएर आफ्नो धारणा सार्वजनिक गरेपछि पार्टीको आगामी राजनीतिक दिशा स्पष्ट हुने बताएका छन्। उनका अनुसार देउवाले आगामी २९ गते गर्ने सम्बोधनपछि कांग्रेसभित्र देखिएका विवाद र त्यसको समाधानबारे थप प्रस्टता आउनेछ।

कांग्रेसमा पछिल्लो समय सभापति गगन थापा नेतृत्वको समूह र देउवा पक्षबीच राजनीतिक तथा संगठनात्मक विषयमा मतभेद देखिँदै आएको छ। पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका तथा संगठन सञ्चालनका विषयमा नेताहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।

देउवा पक्षका नेताहरूले पार्टीलाई विभाजनबाट जोगाउँदै संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। अर्को पक्षले भने कांग्रेसलाई नयाँ राजनीतिक परिस्थिति र जनअपेक्षाअनुसार रूपान्तरण गर्नुपर्ने धारणा राख्दै आएको छ।

यसबीच कांग्रेसभित्रै पार्टी विभाजनको सम्भावनाबारे समेत चर्चा हुन थालेपछि नेताहरूले त्यसलाई तत्काल निष्कर्षका रूपमा लिन नहुने बताएका छन्। देउवाको धारणा र त्यसपछि विकसित हुने राजनीतिक परिस्थितिले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने उनीहरूको बुझाइ छ।

२९ गते देउवाले गर्ने सम्बोधनलाई कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ। उनको सम्बोधनपछि पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको प्रयास अघि बढ्छ वा शक्ति संघर्ष थप चर्किन्छ भन्ने विषयमा पनि स्पष्ट संकेत मिल्ने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार