प्रहरीले नष्ट गर्‍यो एक हजार ५२१ किलो गाँजा

1.1k Shares

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न स्थानबाट बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका कार्यालयले विभिन्न मिति र स्थानबाट बरामद गरेका लागूऔषध धनकुटा नगरपालिका–९ मूलघाटस्थित तमोर नदी किनारमा नष्ट गरेको हो।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकको रोहवरमा लागूऔषध नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

नष्ट गरिएका लागूऔषधमध्ये एक हजार ५२१ किलो गाँजा र ट्रामाडोल तथा डाइसाइकोमाइनका एक हजार ८९७ ट्याब्लेट रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बरामद भएका लागूऔषध कानुनी प्रक्रियाअनुसार नष्ट गरिएको जानकारी दिए।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लागूऔषध गैरकानुनी गतिविधिमा प्रयोग हुने भएकाले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको हो।

यसअघि पनि धनकुटा प्रहरीले गत असार २६ गते एक हजार दुई किलो ३०५ ग्राम गाँजा तथा विभिन्न प्रकारका ट्याब्लेट नष्ट गरेको थियो।

पछिल्लो समय धनकुटा प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको छ। प्रहरीले लागूऔषधसहित त्यसको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रमसमेत बढाएको जनाएको छ।

प्रहरीले लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि निगरानी तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

सम्बन्धित समाचार