विश्वासको मत नलिई मुख्यमन्त्री शाहले राजीनामा दिने

1.4k Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिने तयारी गरेका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहसँग आजसम्म विश्वासको मत लिने वा राजीनामा दिने विकल्प थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८ सांसद मात्रै छन्। तीमध्ये कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा अमेरिकामा रहेकाले विश्वासको मत जुटाउन थप कठिन देखिएको छ।

मुख्यमन्त्री शाहले बुधबार सभामुख भीम भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वान गर्न पत्र पठाएका थिए। त्यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले आज साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउने विषयमा छलफल गरेको थियो।

सरकार जोगाउन कांग्रेसको मतबाहेक शाहलाई थप १० सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ। तर आवश्यक समर्थन सुनिश्चित हुन नसकेपछि कांग्रेसकै केही प्रदेशसभा सदस्यले राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

यसैबीच कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो ३ बजे बस्दैछ। काठमाडौंमा रहेका केही कांग्रेस सांसदलाई मुख्यमन्त्री शाहले धनगढी फर्किन आग्रह गरेका छन् भने केही सांसद फर्किसकेको जनाइएको छ।

समर्थन जुटाउने अवस्था नबनेमा शाहले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने सम्भावना बलियो देखिएको छ। राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि राजनीतिक प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार