मध्यराति मोदीखोलामा भीषण बाढी, दुई पुल बगे

1.1k Shares

कास्की । कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार मध्यराति आएको भीषण बाढीले दुई वटा मेटल पुल बगाएको छ । अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने बिरेठाँटी नजिक मोदीखोलाको बीच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने–आउने दुवैतर्फका मेटल पुल बाढीले बगाएको हो । बाढीका कारण मन्दिरको तल्लो आधा भागमा समेत क्षति पुगेको छ ।

बाढी आएपछि मन्दिर परिसरमा रहेका एक जना पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेका छन् । उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट विशेष उद्धार टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार चार जना रोप–रेस्क्यु गर्ने र तीन जना गोताखोरसहितको तालिमप्राप्त टोली आवश्यक विपद् उद्धार सामग्री लिएर राति नै घटनास्थल पुगेको थियो ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार मन्दिरमा फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उज्यालो भएपछि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ ।

 
 
सम्बन्धित समाचार