किशोर श्रेष्ठ पक्राउप्रति माधव नेपालको कडा प्रतिक्रिया

1k Shares

काठमाडौँ । नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।

नेपालले सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई पक्राउ गर्नुका साथै खानतलासीका नाममा उनको घरमा प्रहरीले गरेको गतिविधि आपत्तिजनक रहेको बताएका छन्। उनले कानुनी शासन र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक थप गम्भीर समस्यामा फस्ने चेतावनीसमेत दिएका छन्।

‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा घरमा गरिएको प्रहरी गतिविधि आपत्तिजनक छ। कानुनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन् ठूलो समस्यामा फस्नेछ,’ नेपालले भनेका छन्।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। अदालतले उनीविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्न अनुमति दिएको छ। उनकी श्रीमतीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत दायर गरेकी छन्, जसको पेसी शुक्रबार तोकिएको छ।

यसैबीच, पत्रकार श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीलगायत पत्रकारसम्बद्ध संस्थाहरूले पनि आपत्ति जनाउँदै तत्काल र निःशर्त रिहाइको माग गरेका छन्।

सम्बन्धित समाचार