रोल्पाका बाढीपहिरो पीडितको उद्धार र राहत माग्दै प्रधानमन्त्री बालेनलाई भेटे वर्षमान पुनले

1.6k Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान सिंहदरबार पुगेर पुनले प्रधानमन्त्री शाहसँग भेट गरी रोल्पामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

पुनको सचिवालयका अनुसार भेटका क्रममा उनले रोल्पाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक मानवीय सहायता पुर्‍याउन प्रधानमन्त्री शाहसँग आग्रह गरेका थिए।

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङमा पहिरोले घर पुरिँदा केही मानिस बेपत्ता भएका छन्। स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिँदा उनीसहित तीन जना बेपत्ता भएको बताइएको छ।

यस्तै, सोही वडाको गिट्ठेमा स्थानीय लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ। उक्त घरमा कति जना मानिस परेका छन् भन्ने यकिन विवरण भने अझै सार्वजनिक भएको छैन।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेपछि उद्धार तथा राहतलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आफूले प्रधानमन्त्रीसँग भेट गरेको नेता पुनको सचिवालयले जनाएको छ।

भेटमा प्रभावित क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार र पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा पुनले जोड दिएको बताइएको छ।

सम्बन्धित समाचार