सहकारी पीडितको आन्दोलनमा प्रसाईं जाने सूचनापछि घरमै पुग्यो प्रहरी
1.1k
Shares
भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको निवासमा प्रहरी पुगेको छ ।
लघुवित्त तथा सहकारी पीडितहरूले काठमाडौंमा गरिरहेको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचना पाएपछि नेपाल प्रहरीको टोली उनको निवास पुगेको हो । आन्दोलनमा प्रसाईं सहभागी हुँदा परिस्थिति थप तनावपूर्ण बन्न सक्ने आकलन गर्दै प्रहरीले उनलाई घरमै रोक्ने उद्देश्यले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ ।
‘अप्रिय स्थिति सिर्जना नहोस् भनेर प्रहरीले सावधानीको उपाय अपनाएको हो,’ प्रहरी स्रोतले भन्यो ।
प्रसाईंको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौं आइपुगेका हुन् । उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिको सडकमा सुतेर धर्ना दिएका थिए ।
पीडितहरूले आफ्ना माग सम्बोधन नभएसम्म र सरकारका तर्फबाट वार्ताका लागि प्रतिनिधि नआएसम्म आन्दोलनस्थलबाट नहट्ने अडान लिएका छन् । उनीहरूले लघुवित्त तथा सहकारीसँग सम्बन्धित समस्या समाधान गर्न सरकारसँग तत्काल पहल र वार्ताको माग गर्दै आएका छन्।