अविरल वर्षाले देशभरका दर्जनौँ सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन प्रहरीको आग्रह

1.1k Shares

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा दर्जनौँ सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको जनाएको छ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि बन्द भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा पनि यातायात ठप्प भएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि प्रभावित भएको छ।

यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने भए आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

सम्बन्धित समाचार