काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा १ लाख ८० हजारभन्दा बढीले अवलोकन गरेका छन्।
भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा सवारीसाधनप्रति सर्वसाधारण तथा अटोमोबाइल्स पारखीको उल्लेखनीय आकर्षण देखिएको आयोजकले जनाएको छ। नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको एक्स्पो अपेक्षाभन्दा उत्साहजनक र सफल भएको बताइन्।
एक्स्पोमा विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका थिए। नयाँ मोडल सार्वजनिक गर्नुका साथै ग्राहकलाई विभिन्न अफर र वित्तीय सुविधासमेत उपलब्ध गराइएको थियो।
एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको बुकिङसमेत उल्लेख्य भएको व्यवसायीहरूले बताएका छन्। विद्युतीय तथा हाइब्रिड सवारीसाधनप्रति उपभोक्ताको बढ्दो चासोले नेपाली अटोमोबाइल बजार थप विस्तार हुने संकेत देखिएको आयोजकको भनाइ छ।
नाइमाले आगामी दिनमा यस्ता प्रदर्शनीलाई अझ व्यवस्थित र ठूलो स्तरमा आयोजना गर्ने बताएको छ। आयोजकका अनुसार एक्स्पोको सफलताले नेपालमा मोबिलिटी क्षेत्रप्रति बढ्दो जनचासो र बजारको सम्भावनालाई समेत प्रतिबिम्बित गरेको छ।