खानतलासी र स्थानान्तरणको विरोधमा मोरङ कारागारका कैदीबन्दी आन्दोलित

1.8k Shares

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान सुरक्षा निकायले खानतलासी गरेपछि कैदीबन्दीहरू आन्दोलित भएका छन्।

कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तु राखिएको विशेष सूचना पाएपछि बिहान करिब ४ः३० बजेदेखि सुरक्षा निकायले खानतलासी सुरु गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मोरङ प्रहरीका अनुसार कारागारमा बेला–बेलामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गरिने खानतलासीको यो नियमित प्रक्रियाकै निरन्तरता हो। खानतलासीका क्रममा अहिलेसम्म कुनै गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।

खानतलासीसँगै केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएपछि ‘बी ब्लक’ का कैदीबन्दीले त्यसको विरोध गरेका हुन्। उनीहरू कारागारको पूर्वी भागको छतमा चढेर नाराबाजी गर्नुका साथै कारागारभित्रै विरोध प्रदर्शनमा उत्रिएका थिए।

आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्नेलगायतका माग राखेका छन्। स्थानान्तरणको तयारीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोध गरेपछि प्रशासनले तत्कालका लागि स्थानान्तरण प्रक्रिया रोकेको छ।

केही समय तनावको अवस्था देखिए पनि अहिले कारागारको अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ। खानतलासीका लागि गएको सुरक्षा टोलीसमेत फर्किसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन्।

यस घटनाको पृष्ठभूमिमा केही कैदीबन्दीलाई अन्यत्र सार्ने प्रशासनको तयारी रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारहरूमा उल्लेख गरिएको छ। यसअघि कारागारभित्र कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेका थिए र कारागारसँग जोडिएको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार