उत्पादित बिजुली खेर जान नदिन प्रसारण लाइन विस्तारमा जोड

1.4k Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चूडामणि दवाडीले प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

उनले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसअनुसार प्रसारण तथा वितरण पूर्वाधार विस्तार हुन नसके उत्पादित ऊर्जा उपयोग गर्न समस्या हुने बताए। विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकीकृत रूपमा अघि बढाउँदै आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्ने उनको भनाइ छ।

सचिव दवाडीले विद्युत् प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै आयोजनाबाट उत्पादित विद्युत् सहज रूपमा राष्ट्रिय प्रणालीमा जोडिने वातावरण बनाउन आवश्यक रहेको बताए।

नेपालमा जलविद्युत् उत्पादनको सम्भावना उच्च रहेकाले आगामी दिनमा उत्पादन क्षमता थपिँदै जाने भन्दै उनले विद्युत् खपत बढाउने र निर्यातका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने बताए।

उनका अनुसार विद्युत् क्षेत्रको दीर्घकालीन विकासका लागि उत्पादनसँगै प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीको क्षमता विस्तार अपरिहार्य छ। पूर्वाधार अभावकै कारण विद्युत् खेर जाने अवस्था दोहोरिन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

सम्बन्धित समाचार