काठमाडौं । सांसद श्रेष्ठले देशको आर्थिक तथा सामाजिक विकासका विषयमा संवाद र बहस अघि बढाउने उद्देश्यले ‘समृद्धि संवाद’ कार्यक्रमको सुरुवात गरेका छन्।
कार्यक्रममार्फत मुलुकको समृद्धिका लागि आवश्यक नीति, योजना, अवसर तथा चुनौतीका विषयमा विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला र नागरिकसँग छलफल गरिने जनाइएको छ।
सांसद श्रेष्ठले समृद्धि केवल राजनीतिक नारामा सीमित नभई व्यवहारमा देखिने गरी विकासका प्राथमिकता तय गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले देशको आर्थिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनजस्ता विषयमा गम्भीर संवाद आवश्यक रहेको बताए।
उनका अनुसार ‘समृद्धि संवाद’लाई नियमित रूपमा सञ्चालन गर्दै विभिन्न क्षेत्रका अनुभवी व्यक्ति तथा विज्ञहरूको सुझाव संकलन गरिनेछ। प्राप्त सुझावलाई नीति निर्माण र विकासका काममा उपयोग गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको बताइएको छ।
कार्यक्रममा सहभागीहरूले मुलुकमा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग, युवालाई स्वदेशमै अवसर सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए।
सांसद श्रेष्ठले देशको विकासका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संवादको माध्यमबाट साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिए।
‘समृद्धि संवाद’ले विकासका विषयमा तथ्य र अनुभवमा आधारित बहसलाई प्राथमिकता दिने तथा देशको समृद्धिका लागि व्यावहारिक सुझाव र समाधान खोज्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।