कोशी सरकारमा नेकपाको प्रवेश, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

1.1k Shares

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमा सहभागी भएको छ। नेकपाबाट नियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका छन्।

केन्द्रीय तहमा नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकारमा नेकपा सहभागी भएको हो। उक्त सहमतिमा सरकार सञ्चालनमा सहकार्य गर्ने, राजनीतिक स्थायित्वका लागि समन्वय गर्ने तथा प्रदेश सरकारमा पनि सहमतिको भावना कार्यान्वयन गर्ने विषय समेटिएको थियो। सोहीअनुसार मुख्यमन्त्री कार्की नेतृत्वको सरकार विस्तार गरिएको हो।

नेकपाबाट खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। त्यस्तै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ।

नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट यसअघि जिम्मेवारी सम्हालिरहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन भएपछि कोशी प्रदेश सरकार ११ सदस्यीय बनेको छ। जसमा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन्। सरकारमा नेकपा सहभागी भएसँगै एमाले र नेकपा कोशी प्रदेशमा सत्ता साझेदार दल बनेका छन्।

यससँगै मन्त्रिपरिषद्को जिम्मेवारी टुंगो लागेकाले प्रदेश सरकारले नयाँ सत्ता समीकरणअनुसार सरकार सञ्चालन र आफ्नो कार्यसम्पादनलाई अघि बढाउने बाटो खुलेको छ।

सम्बन्धित समाचार