मागभन्दा बढी ग्यास आपूर्ति भइरहेको निगमको दाबी, सञ्चय नगर्न अनुरोध

1.2k Shares

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। निगमले उपत्यकामा मागभन्दा बढी ग्यास पठाइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौं उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिन्डर ग्यासको माग हुन्छ। तर पछिल्लो समय दैनिक मागभन्दा करिब ५ देखि ८ हजार सिलिन्डर बढी आपूर्ति भइरहेको छ।

निगमको तथ्यांकअनुसार भदौ २ गते मात्रै उपत्यकाका २२ वटा ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिन्डर बिक्री हुँदैछ। त्यसको अघिल्लो दिन भदौ १ गते ५२ हजार ५७६ सिलिन्डर बिक्री भएको थियो। यो सामान्य दैनिक मागभन्दा करिब १५ हजार बढी हो।

साउन २७ देखि भदौ २ गते साँझसम्म उपत्यकामा कुल ३ लाख ९ हजार ५५३ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। यस अवधिमा दैनिक औसत बिक्री ४४ हजारभन्दा माथि रहेको देखिन्छ।

आधा भरिएका सिलिन्डरको असर अहिले देखिएको दाबी

ग्यास उद्योगी व्यवसायीले अहिले देखिएको अभाव आपूर्ति नै रोकिएका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयात घटेपछि सरकारले समस्या व्यवस्थापन गर्न आधा भरिएका सिलिन्डर बजारमा पठाएको थियो। अहिले त्यसकै प्रभावका कारण केही क्षेत्रमा अभाव देखिएको उनीहरूको भनाइ छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सोमबारदेखि डिलरमार्फत ग्यास बिक्री सुरु भएपछि वितरण सहज भएको बताए। उनका अनुसार आगामी एक साताभित्र ग्यासको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिन्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा देशभर दैनिक करिब १ लाख १० हजार सिलिन्डर बिक्री हुन्छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास खपत भएको छ, जुन करिब ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।

गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन अर्थात् ३१ लाख २० हजार ९८६ सिलिन्डर बिक्री भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ सिलिन्डर बिक्री भएको निगमको तथ्यांक छ।

ग्यास आयातमा देखिएको उतारचढाव

पछिल्ला महिनामा एलपी ग्यासको आयातमा समेत उल्लेख्य उतारचढाव देखिएको छ। गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। सो अवधिमा आधा भरिएका ५४ लाख ६४ हजार ७८९ सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ।

त्यसैगरी गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन, जेठमा ३३ हजार ८४२ मेट्रिक टन र असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको थियो। अघिल्लो वर्षको सोही अवधिमा भने क्रमशः ४६ हजार ५०३, ४९ हजार ८१६ र ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको थियो।

निगमले पछिल्लो समय आपूर्ति बढाइरहेको भन्दै बजारमा अनावश्यक रूपमा ग्यास सञ्चय गर्दा झनै कृत्रिम अभाव सिर्जना हुन सक्ने भएकाले उपभोक्तालाई संयमित हुन आग्रह गरेको छ।

सम्बन्धित समाचार