असन्तुष्ट समूहसँग संवाद गर्न कांग्रेसले वडा अधिवेशन २२ दिन पछाडि सार्‍यो

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन २२ दिन पछाडि सारेको छ। पार्टीको १५औँ महाधिवेशन भने पूर्वनिर्धारित मितिमै गर्ने निर्णय यथावत् राखिएको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार यसअघि भदौ २ गते गर्ने भनिएको वडा अधिवेशन अब भदौ २४ गते हुनेछ। पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न र असन्तुष्ट समूहसँग संवाद तथा सहमतिको प्रयासका लागि पर्याप्त समय निकाल्ने उद्देश्यले अधिवेशन सारिएको हो।

पौडेलले महाधिवेशनका लागि समय निकै छोटो भए पनि उपलब्ध समयलाई अधिकतम उपयोग गर्दै संवाद, सहमति र सहभागिता बढाउन पार्टीले प्रयास गर्ने बताएका छन्। सदस्यतासम्बन्धी काम बाँकी रहेकाले नभई असन्तुष्ट समूहसँग संवादका लागि समय थप्न वडा अधिवेशन सारिएको उनको भनाइ छ।

संशोधित कार्यतालिकाअनुसार अब भदौ २७ गते गाउँ–नगर सम्मेलन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन, असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन, असोज ६ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश सम्मेलन हुनेछ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णय भने यथावत् राखेको छ।

सम्बन्धित समाचार