मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

1k Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितका समस्या गम्भीरतापूर्वक समाधान गर्न सरकारसँग आग्रह गरेकी छन्।

ललितपुरको पुलचोकस्थित मानव अधिकार आयोग र संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि करिब एक सातादेखि धर्नामा बसेका पीडितहरूको आन्दोलनमा पुगेर भण्डारीले उनीहरूप्रति ऐक्यबद्धता जनाएकी हुन्।

पीडितहरूले भोगिरहेका समस्याबारे आफूले जानकारी लिएको बताउँदै उनले ती समस्याको गम्भीरतापूर्वक समाधान खोज्नुपर्ने धारणा राखिन्। उनले विगतको सरकारले पीडितहरूसँग गरेका सम्झौतालाई आधार बनाएर अहिले देखिएका समस्याको जरैदेखि दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन्।

सामाजिक न्यायका लागि भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनमा सहभागी तथा त्यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता व्यक्त गरिन्।

मिटरब्याज, लघुवित्त र सहकारीसँग सम्बन्धित पीडितहरूले लामो समयदेखि आफ्ना समस्या समाधान, रकम फिर्ता तथा दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। पछिल्लो समय तीनै समूहका पीडितले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

सम्बन्धित समाचार