त्रिशूली । लगातारको वर्षाका कारण पहिरो, लेदो र गेग्रान खस्ने जोखिम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको रसुवागढी नाकासम्म जोडिने मुख्य सडकमा पहिरोको जोखिम बढेकाले हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो।
शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने सम्भावना बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। यो व्यवस्था भदौ १ गते रातिदेखि अर्को सूचना जारी नभएसम्म लागू हुनेछ।
जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने आवागमन गर्न दिइने जनाइएको छ। प्रशासनले वर्षाका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि प्रहरी १००, सशस्त्र प्रहरी १११४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने जनाएको छ।