मुख्यमन्त्री किरण थापा मगरले बिहीबार नेकपा एमाले, सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
एमालेबाट भरतबहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् भने ज्ञानबहादुर तामाङलाई विनाविभागीय मन्त्री बनाइएको छ। मन्त्रालयको भागबण्डा टुंगिएपछि तामाङको जिम्मेवारी तोकिने बताइएको छ।
नेकपाबाट सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। सत्ता साझेदारबीचको सहमतिअनुसार नेकपाबाट अर्को एक मन्त्री पनि पछि नियुक्त हुने तयारी छ।
त्यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय छन्। मन्त्रिपरिषद् विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ।