चोरीदेखि बेचबिखनसम्म संलग्न ६ जना पक्राउ

939 Shares

काठमाडौं । काठमाडौंको बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट गरगहना चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरीमा संलग्न सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन महर्जन तथा चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन रहेका छन्।

उनीहरूले गत १४ साउन बिहान करिब साढे ७ बजे बनस्थलीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट गरगहना चोरी गरेको आरोप छ। घटनापछि अनुसन्धानमा जुटेको प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अदालतबाट तीन दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरूको साथबाट चोरी भएका गरगहना पनि बरामद गरेको जनाएको छ। घटनामा थप व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार