बाढीपहिरोले देशभरका सडकमा असर, यी खण्डमा आवागमन प्रभावित

967 Shares

काठमाडौं । अविरल वर्षाका कारण बाढी, पहिरो, सडक भासिने तथा कटानका घटना बढेपछि देशका विभिन्न प्रमुख सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो जमेर पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडकबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेको तथा लिपिङ क्षेत्रमा सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बन्द भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेँसीसहर–मनाङ सडकखण्डमा पनि पहिरो खसेपछि यातायात रोकिएको छ।

लगातार वर्षा भइरहेकाले पहाडी क्षेत्रमा थप बाढी, पहिरो र सडक कटानको जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार