नेपाल–भारत सीमा बैठक : लागुऔषध नियन्त्रण र किसानका समस्यामा छलफल

1.1k Shares

महोत्तरी । सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि नेपाल र भारतका सीमावर्ती प्रशासन तथा सुरक्षा अधिकारीबीच सहकार्य थप प्रभावकारी बनाउने सहमति भएको छ ।

शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध कारोबार, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासन, सीमा स्तम्भ व्यवस्थापनलगायतका विषयमा छलफल भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका जिल्ला अधिकारी तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा महोत्तरी, सर्लाही र रौतटका प्रशासनिक तथा सुरक्षा अधिकारीसहित सीतामढीका सुरक्षा अधिकारी तथा प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सीमापार हुने लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई प्राथमिकताका साथ उठाइएको थियो । साथै अपराध तथा तस्करी नियन्त्रण, अवैध हतियार तथा गोलीगठ्ठाको ओसारपसार रोक्ने र चोरी भएका सवारीसाधन तथा सम्पत्ति सीमापार हुन नदिने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने सहमति भएको प्रजिअ यादवले बताए ।

आवश्यकताअनुसार सम्बन्धित निकायबीच सूचना आदानप्रदान गर्ने तथा संयुक्त टोलीमार्फत सीमा क्षेत्रमा निगरानी बढाउने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नेपाली किसान मल लिन भारत जाँदा पक्राउ परेको विषयसमेत नेपाली अधिकारीले उठाएका थिए । उक्त घटनाप्रति भारतीय पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएको प्रजिअ यादवले बताए ।

आगामी दिनमा सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले सहज रूपमा आवतजावत तथा कृषि प्रयोजनका गतिविधि गर्न सक्ने वातावरण निर्माण गर्ने विषयमा समेत भारतीय पक्षले सकारात्मक धारणा राखेको बताइएको छ ।

यस बैठकले सीमा क्षेत्रमा देखिने आपराधिक गतिविधि नियन्त्रणसँगै दुई देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच समन्वय तथा सूचना आदानप्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार