मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

1k Shares

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ।

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेपछि कांग्रेसले आफ्ना सांसदलाई प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न भनिएको छ।

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्।

यसअघि एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनको दाबी गरेका थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले सोही क्रममा सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

कांग्रेसको ह्विपसँगै मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ।

सम्बन्धित समाचार