ओखलढुंगामा विद्युत् सर्ट भएर दुई घरमा आगलागी, २६ लाखको क्षति

1.8k Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा नष्ट भएका छन्। मंगलबार साँझ भएको आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय कोटमाया कार्कीको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी सुरु भएको थियो। आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कोटमाया कार्कीको घरमा मात्रै करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला सुन र ५० हजार रुपैयाँ नगदसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घटनामा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

सम्बन्धित समाचार