काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका सात जिल्लामा जिल्ला अधिवेशन गराउने तयारी थालेको छ। अधिवेशनको वातावरण बनाउन पार्टी सभापति रवि लामिछानेले मधेशका जिल्लाहरू भ्रमण गर्ने गरी तालिका बनाउने तयारीसमेत भइरहेको छ।
रास्वपाले मंगलबार पार्टी मुख्यालय चमतीमा मधेशका सात जिल्लाको अधिवेशन र सभापति लामिछानेको भ्रमण तालिकाबारे छलफल गरेको थियो। छलफलमा बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा अधिवेशन गराउने विषयमा छलफल भए पनि मिति भने टुंगो लागिसकेको छैन।
रास्वपाले पहिलो महाधिवेशन सम्पन्न गरिसक्दा पनि मधेशका यी जिल्लामा अधिवेशन हुन सकेको छैन। सदस्यता र प्रतिनिधि विवादका कारण अधिवेशन रोकिएको पार्टी नेताहरूले बताएका छन्। पर्सामा भने अधिवेशन सम्पन्न भएर हरि पन्तको नेतृत्वमा नयाँ जिल्ला समिति चयन भइसकेको छ।
मधेशका जिल्लामा नेतृत्व चयनका क्रममा गुटबन्दी, सांसदहरूको हस्तक्षेप तथा पुराना कार्यकर्ता र निर्वाचनअघि पार्टी प्रवेश गरेका व्यक्तिबीच नेतृत्वका लागि प्रतिस्पर्धा बढेपछि अधिवेशन प्रभावित भएको नेताहरूको भनाइ छ। केही स्थानमा नेतृत्व चयनको विवाद हात हालाहालसम्म पुगेको पनि बताइएको छ।
रास्वपा मधेश प्रदेशका सभापति तपेश्वर यादवका अनुसार निर्वाचनअघि विभिन्न दलबाट ठूलो संख्यामा मानिसहरू रास्वपामा प्रवेश गरेपछि संगठन व्यवस्थापनमा चुनौती देखिएको हो। मधेशका १३६ पालिकामध्ये १० देखि १५ वटा पालिकामा समेत अधिवेशन हुन नसकेको उनले बताएका छन्।
पार्टी सभापति रवि लामिछानेले अधिवेशनको वातावरण बनाउन आफू मधेश जाने बताएका छन्। केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने क्रममा उनले एक–दुई साताभित्र मधेश भ्रमणमा निस्कने तयारी रहेको बताएका थिए।
यसैबीच, अधिवेशन हुन नसकेका स्थानमा देखिएको विवाद अध्ययन गरी प्रतिवेदन बुझाउन सहमहामन्त्री हरि ढकाललाई पार्टीले जिम्मेवारी दिएको छ। विवादित क्षेत्रमा निष्पक्ष रूपमा अध्ययन गर्न मधेशबाहिरका नेतामार्फत समस्या समाधानको प्रयास गरिएको रास्वपा नेताहरूको भनाइ छ।
मधेशका अधिवेशनमा देखिएको विवाद आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनसँग पनि जोडिएको नेताहरूको बुझाइ छ। पालिका, जिल्ला तथा प्रदेश तहको नेतृत्वमा पुग्ने व्यक्तिले स्थानीय तहको टिकट बाँड्ने बुझाइ कार्यकर्तामा रहेकाले पनि नेतृत्व चयनमा प्रतिस्पर्धा र विवाद बढेको बताइएको छ।
रास्वपाले भने स्थानीय तहका उम्मेदवार छनोटका लागि छुट्टै ‘क्यान्डिडेट क्लब’ र मूल्यांकन प्रणाली अघि सारेको छ। पार्टीले उम्मेदवारको क्षमता, संगठनात्मक सक्रियता, छवि, योग्यता तथा उम्मेदवार एकेडेमीलगायतका आधारमा छनोट गर्ने जनाएको छ।
मधेशमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको पक्षमा पार्टी पंक्ति ध्रुवीकृत भएको दाबीसमेत केही नेताहरूले गरेका छन्। यही आन्तरिक ध्रुवीकरणका कारण अधिवेशन प्रक्रिया थप जटिल बनेको उनीहरूको भनाइ छ।
रास्वपा मधेश प्रदेशका सभापति यादवले भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन सम्भव भए पनि सबै ठाउँमा त्यसको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार विवाद समाधानका लागि अन्तिम उपाय निर्वाचन नै हुनसक्छ।
अधिवेशनको मिति अझै तय नभएकाले तत्काल प्रक्रिया अघि बढ्ने अवस्था स्पष्ट छैन। चाडपर्व नजिकिँदै गरेकाले मधेशका केही जिल्लाको अधिवेशन मंसिरतिर मात्रै हुनसक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।