ओखलढुंगा, १० भदौ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर मंगलबार साँझ आगलागी हुँदा दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएपछि आगलागी सुरु भएको थियो। आगो फैलँदै जाँदा उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासी खटिएका थिए। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना तथा २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। यसबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
त्यस्तै, ज्ञानकुमारी कार्कीको घर, अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिएका छन्।