मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर रसुवा -त्रिशूलीतर्फ उड्यो

1.1k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार तथा राहत अभियानलाई तीव्र बनाएको छ। सेनाको एमआई–१७ हेलिकप्टर आपत्कालीन मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेको एमआई–१७ हेलिकप्टर त्रिशूलीस्थित जिल्ला अस्पतालतर्फ परिचालन गरिएको हो। बाढीबाट प्रभावित तथा सम्भावित घाइतेको तत्काल उपचार र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले मेडिकल टोली पठाइएको हो।

यसअघि नै नेपाली सेनाका दुईवटा हेलिकप्टर उद्धारका लागि त्रिशूली पुगेका छन्। थप रूपमा धुन्चे र त्रिशूलीस्थित ब्यारेकबाट उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत खटाइएको छ।

रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा बुधबार बिहान करिब ९ बजेतिर अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण नदी तथा खोला आसपासका बस्ती र संरचनामा क्षति पुगेको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन भइरहेका छन्। सरकारले सबै हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

नेपाली सेनाले त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान तथा बाढी प्रभावितको खोज, उद्धार र राहतमा सम्बन्धित सबै पक्षसँग समन्वय गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार