भोटेकोशीको बाढीले फुर्केखोलाको पुल बगायो

1.7k Shares

धादिङ । भोटेकोशी नदीमा आएको भीषण बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगाएको छ। त्रिशूली नदी हुँदै आएको बाढीले काठमाडौं र धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने उक्त पुलमा क्षति पुर्‍याउँदै बगाएको हो।

बाढी त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ अघि बढेको छ। नदीको बहाव अत्यधिक बढेपछि फुर्केखोलामा रहेको पुलमा क्षति पुगेको हो। पुल बगाएपछि धादिङ सदरमुकाम धादिङबेँसी र काठमाडौंबीचको सडक आवागमनमा समेत असर परेको छ। पुलबाट आवतजावत गर्न नसकिने भएपछि यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ।

बाढीले फुर्केखोलाको पुल मात्रै नभई त्रिशूली नदीमा रहेका अन्य कैयौँ झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। यसबाट नदी आसपासका बस्ती तथा विभिन्न स्थानबीचको आवागमन प्रभावित भएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढी नुवाकोट हुँदै धादिङतर्फ पुगेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत ठूलो जोखिम उत्पन्न भएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन र उद्धारको काम अघि बढाइरहेका छन्। बाढीको बहाव अझै जोखिमपूर्ण रहेकाले त्रिशूली नदी तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार