रसुवा बाढी : आयोजनास्थलबाट १३३ भन्दा बढी कर्मचारी–कामदार सम्पर्कविहीन

1.1k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपालीसँगै विदेशी कर्मचारी तथा कामदारसँग पनि सम्पर्क हुन सकेको छैन। बाढीले जलविद्युत् आयोजनाका संरचना, पहुँचमार्ग तथा सञ्चार प्रणालीमा क्षति पुर्‍याएपछि उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त हुन नसकेको हो।

सम्पर्कविहीनमध्ये लाङटाङ खोला जलविद्युत् आयोजनासँग सम्बन्धित ६० जना कर्मचारी तथा कामदार रहेको विवरण सार्वजनिक भएको छ। आयोजनामा कार्यरत २५ जना इन्जिनियर, चालक तथा अन्य कर्मचारी र सुरुङभित्र काम गरिरहेका ३५ जना कामदारसँग सम्पर्क हुन नसकेको बताइएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुनुका साथै सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिए पनि प्रतिकूल मौसमले हेलिकोप्टरमार्फत हुने उद्धारमा समेत समस्या परेको छ।

सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि सरकारी निकाय तथा सम्बन्धित आयोजनाहरूले प्रयास जारी राखेका छन्। बाढीबाट जलविद्युत् क्षेत्रका विभिन्न आयोजना र संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

घटनाको क्षति विवरण र सम्पर्कविहीन व्यक्तिहरूको संख्या क्रमशः अद्यावधिक भइरहेकाले आधिकारिक विवरणसँगै संख्या परिवर्तन हुन सक्ने बताइएको छ।

सम्बन्धित समाचार