काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवासहित विभिन्न जिल्लामा बाढीपछि फेला परेका शवको विवरणका आधारमा मृतकको संख्या ९५ पुगेको हो।
बाढीमा परी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ। केही शवको पहिचान भने अझै खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। धादिङमा ११ महिला, पाँच पुरुष र दुई जना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको छ।
त्यस्तै गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव फेला परेको प्रहरीले जनाएको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।
तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको छ।
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार टिमुरेमा खटिएका १० जना, रसुवागढीमा आठ जना, स्याफ्रुबेँसीमा तीन जना, मैलुङमा पाँच जना तथा वेत्रावती र हाकुमा खटिएका एक–एक जना प्रहरी सम्पर्कविहीन भएका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।