रसुवा बाढी : १५ हेलिकोप्टरबाट उद्धार जारी, ९७ जनाको उद्धार

1.2k Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ।

उद्धारका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हेलिकोप्टर परिचालन गरिएको छ। नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी प्रारम्भमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने उपचार शिविरमा राख्ने निर्णय गरेको छ।

गम्भीर घाइतेलाई प्राथमिकताका आधारमा तत्काल काठमाडौं ल्याएर उपचार गरिने व्यवस्था मिलाइएको छ। घाइतेको अवस्थाअनुसार उद्धार तथा उपचारलाई प्राथमिकता दिइनेछ। यसैगरी, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको छ।

वीरेन्द्र अस्पतालबाट खटिएको चिकित्सकीय टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेको आपत्कालीन उपचार गरिरहेको छ। साथै, विपद् व्यवस्थापनका लागि प्रयोग हुने फिल्ड अस्पतालसहित आवश्यक औषधि, मेडिकल सामग्री तथा उपकरणसमेत त्रिशूलीतर्फ पठाउने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार