काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण घाइते भएका ३३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ९ जनाको स्वास्थ्य अवस्था सुधार भएपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य उद्धारकर्मीको सहयोगमा काठमाडौं ल्याइएको हो। उपचाररतमध्ये केहीको अवस्था गम्भीर रहेकाले आवश्यक उपचार र निगरानी जारी रहेको जनाइएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधनका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा विभिन्न संरचनामा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा अझै उद्धार, खोजी तथा राहत वितरणको काम जारी रहेको सम्बन्धित निकायहरूले बताएका छन्।
सरकार तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै घाइतेहरूको उपचार र प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने काम भइरहेको जनाएको छ।