भोटेकोशी बाढीप्रति मार्क कार्नीको दुःख, सहयोग गर्न क्यानडा तयार

1.6k Shares

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न क्यानडा तयार रहेको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जालमार्फत भोटेकोशी नदी क्षेत्रमा आएको बाढीलाई अत्यन्त विनाशकारी भन्दै पीडितप्रति ऐक्यबद्धता जनाएका हुन्। उनले संकटमा परेका, आफ्ना प्रियजन गुमाएका तथा आफन्तको खबरको प्रतीक्षामा रहेका सबैप्रति क्यानडाली जनताको साथ रहेको बताएका छन्।

कार्नीले क्यानडा सरकारले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको उल्लेख गरेका छन्। साथै, प्रभावित क्षेत्रमा रहेका क्यानडाली नागरिकलाई सरकारको Registration of Canadians Abroad प्रणालीमा दर्ता हुन पनि आग्रह गरिएको छ।

क्यानडाको विदेश मन्त्रालय Global Affairs Canada ले पनि नेपाल–चीन सीमाक्षेत्रमा आएको बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै स्थानीय अधिकारी र मानवीय साझेदारसँग सम्पर्कमा रहेको जनाएको छ। आवश्यक परे मानवीय सहायता उपलब्ध गराउन क्यानडा तयार रहेको मन्त्रालयको भनाइ छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेको छ भने घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग र ऐक्यबद्धता जनाइरहेका छन्।

सम्बन्धित समाचार