भोटेकोशी बाढीमा सुदूरपश्चिमका ९० जना सम्पर्कविहीन

778 Shares

 

धनगढी । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका ९० जना नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न जिल्लाका प्रहरी कार्यालयमा प्राप्त सूचनाका आधारमा ९० जना सम्पर्कविहीन भएको विवरण संकलन गरिएको हो। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिका आफन्तबाट प्राप्त विवरणका आधारमा तथ्यांक संकलन भइरहेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, दार्चुलाका ३, डोटीका २, बझाङका २ र अछामका १ जना सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमध्ये चार जना प्रहरी कर्मचारीसमेत रहेका छन्। उनीहरूमा प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेका छन्।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुर, प्रहरी, निजामती कर्मचारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तसँग सम्पर्क हुन नसकेका व्यक्तिको विवरण नजिकको प्रहरी कार्यालयमा टिपाउन प्रहरीले परिवार तथा आफन्तलाई अनुरोध गरेको छ। अहिले सम्बन्धित व्यक्तिका आफन्तले प्रहरीमा विवरण टिपाउने क्रम जारी छ।

सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसँगै सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गर्ने काम पनि भइरहेको छ।

 
 
सम्बन्धित समाचार