काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट संकलन गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना र युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
त्यस्तै, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक पनि सम्पर्कविहीन छन्। बोर्डका अनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्यहाँ रहेका पर्यटक तथा अन्य व्यक्तिसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा पर्यटनसम्बन्धी कम्पनीबाट थप विवरण संकलन गर्ने काम जारी राखेको जनाएको छ।