बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

1.6k Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली तथा विशेषज्ञ परिचालन गर्न अनुमति दिन सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर बाढी प्रभावित क्षेत्रमा सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिएका हुन्। उनले सुरुङ, भग्नावशेष तथा अन्य जोखिमपूर्ण स्थानमा नागरिक फसेको हुन सक्ने भन्दै उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन आग्रह गरेका छन्।

आङदेम्बेले हवाई उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन्।

उनले नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा उद्धारको दायरा थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

यसअघि आङदेम्बेले नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले गृहमन्त्री सुधन गुरुङसँग समेत भेटेर उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका थिए।

कांग्रेसले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै उपलब्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधन परिचालन गर्नुपर्ने बताएको छ।

सम्बन्धित समाचार