रसुवा बाढी : सुरुङमा सयौं फसे, चार दिनसम्म उद्धार हुन सकेन

1.2k Shares

काठमाडौं । रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना अझै सम्पर्कविहीन रहेको निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ।

तीमध्ये माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’ र लाङटाङलगायत आयोजनाका सुरुङमा सयौं कामदार तथा कर्मचारी फसेको अनुमान गरिएको छ।

Screenshot 2026-08-29 231142.png

बाढी आएको चार दिन बितिसक्दा पनि सुरुङभित्र फसेकाहरूको उद्धार प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। आवश्यक उपकरण, प्राविधिक जनशक्ति र समन्वयको अभावमा उद्धार अभियानमा ढिलाइ भएको सम्बन्धित आयोजनाका अधिकारीहरूले बताएका छन्।

सरकारले शनिबार विदेशी उद्धार टोलीलाई नेपाल आएर काम गर्ने अनुमति दिए पनि चिनियाँ र भारतीय टोलीले समेत तत्कालै फिल्डमा उद्धार सुरु गर्न सकेका छैनन्।

इप्पानका अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ आयोजनाका ५७६ जना सम्पर्कविहीन छन्। आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार तीमध्ये करिब ४०० जना सुरुङ तथा हेडवर्क्स क्षेत्रमा फसेको हुनसक्ने अनुमान छ।

Trishuli.jpg

‘जमिनमा ज्यान जोगाउन सफलमध्ये २६० जनाको उद्धार भइसकेको छ। तर सुरुङभित्र फसेकाको उद्धार सुरु हुन सकेको छैन,’ अधिकारीले भने, ‘भोलिबाट उद्धारको काम सुरु होला भन्ने अपेक्षा गरेका छौं।’

माथिल्लो त्रिशूली–१ को सिभिल निर्माणको काम चिनियाँ कम्पनी चाइना रेलवेले गरिरहेको छ। उद्धारमा सहयोग गर्न चीनबाट आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली आयोजनासँग समन्वयमा फिल्डमा खटिने तयारीमा रहेको अधिकारीले बताए।

उनका अनुसार सुरुङभित्र करिब ३०० जना र हेडवर्क्स क्षेत्रमा करिब १०० जना फसेको अनुमान छ।

त्रिशूली–३ ‘ए’ मा ४२ जना फसेको अनुमान

नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत्गृहमा ४२ जना कर्मचारी फसेको अनुमान गरिएको छ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार उद्धारका लागि आवश्यक केही सामग्री शुक्रबार मात्रै प्रभावित क्षेत्रमा पुगेका थिए। त्यसपछि दुईवटा एक्स्काभेटर र अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सेस टनेल पत्ता लगाएर सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको छ।

‘हेडरेस वा टेलरेस टनेलबाट तत्कालै भित्र छिर्न सम्भव देखिएन। दुईवटा एक्सेस टनेल पनि पुरिएका छन्,’ तिम्सिनाले भने, ‘ती टनेल पत्ता लगाएर भित्र प्रवेश गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’

सञ्चालनमा रहेको आयोजना अहिले मर्मतसम्भारका लागि बन्द थियो। त्यसक्रममा उच्च प्राविधिक जनशक्ति आयोजनाभित्र काम गरिरहेका थिए।

लाङटाङमा २५ जना सुरुङभित्र रहेको अनुमान

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा करिब २५ जना फसेको अनुमान गरिएको छ। आयोजना प्रवर्धक विजयमान भट्टराईका अनुसार आयोजनामा कार्यरत ६० जनामध्ये १९ जनाको उद्धार भइसकेको छ।

तर सुरुङभित्र फसेकाहरूको उद्धारका लागि चार दिनदेखि सम्बन्धित सरकारी निकायलाई आग्रह गर्दा पनि प्रभावकारी काम सुरु हुन नसकेको उनले बताए।

‘सुरुङभित्र मानिस फसेको जानकारी पाएदेखि पटक–पटक सम्बन्धित अधिकारीलाई उद्धारका लागि आग्रह गरिरहेको छु,’ भट्टराईले भने, ‘चार दिन भइसक्यो। आज गर्छौं, भोलि गर्छौं भनिएको छ, तर काम सुरु हुन सकेको छैन।’

चिलिमेमा ६ कर्मचारी अझै सुरुङभित्र

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ कर्मचारीको समेत उद्धार हुन सकेको छैन।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार शनिबार पर्वतारोहण तथा उद्धार विज्ञलाई हेलिकोप्टरमार्फत घटनास्थलमा पठाइएको थियो। तर सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेपछि बाटो पूरै थुनिएको भेटिएको थियो।

उक्त अवरोध हटाउन विशेष उपकरण र विज्ञ टोली आवश्यक रहेको उद्धार टोलीले जानकारी दिएको महर्जनले बताए।

उद्धारका लागि नेपाल आएको भारतीय टोलीले समेत प्रभावित क्षेत्रको रेकी गरेको र त्यसलाई उद्धारमा परिचालन गर्ने प्रयास भइरहेको उनले बताए।

माथिल्लो त्रिशूली–३ ‘बी’ मा २०१ जना सम्पर्कविहीन

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाका अनुसार २०१ जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङमा नभई सतहमा निर्माण, कार्यालय तथा क्याम्प क्षेत्रमा कार्यरत रहेका थिए।

आयोजनाले उनीहरूको खोज तथा उद्धारका लागि आइतबारदेखि टोली परिचालन गर्ने तयारी भइरहेको जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्यालयबाट चिनियाँ सुरुङ विज्ञ टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार सुरु गरेको सूचना सार्वजनिक भए पनि सम्बन्धित आयोजनाका अनुसार टोली त्यहाँ पुगेको थिएन।

११ आयोजनामा ८९८ जना सम्पर्कविहीन

इप्पानका अनुसार रसुवा बाढीपछि त्रिशूली करिडोरका ११ जलविद्युत् आयोजनामा गरी ८९८ जना सम्पर्कविहीन छन्।

  • माथिल्लो त्रिशूली–१ : ५७६ जना
  • माथिल्लो त्रिशूली–३ ‘बी’ : २०१ जना
  • माथिल्लो त्रिशूली–३ ‘ए’ : ४२ जना
  • लाङटाङ खोला : ४२ जना
  • रसुवा–भोटेकोशी : ४ जना
  • चिलिमे : ८ जना
  • मेलुङ खोला : ७ जना
  • मिडल त्रिशूली गंगा : २ जना
  • त्रिशूली जलविद्युत् आयोजना : १ जना
  • देविघाट जलविद्युत् आयोजना : १ जना

इप्पानका अनुसार माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ का सुरुङ तथा अन्य संरचनामा गरी करिब ३०० जना फसेको अनुमान छ।

हालसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवित उद्धार भएको छ। माथिल्लो त्रिशूली–१ बाट २५४, लाङटाङबाट १८ र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ९१ जनाको उद्धार भएको इप्पानले जनाएको छ।

‘उद्धारमा एक–एक मिनेट महत्त्वपूर्ण’

नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले सुरुङमा फसेकाहरूको जीवन बचाउन एक–एक मिनेट महत्त्वपूर्ण भए पनि सरकारी संयन्त्रबाट त्यसअनुसारको गम्भीरता नदेखिएको बताए।

जलविद्युत् विज्ञ सूर्यप्रसाद अधिकारीले सुरुङभित्र फसेकाको उद्धार तत्काल गर्नुपर्ने बताए। नेपालसँग आवश्यक सुरुङ उद्धारसम्बन्धी विज्ञता, उपकरण र प्रविधि सीमित भए विदेशी सहयोग तत्काल लिनुपर्ने उनको भनाइ छ।

नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सवास बरालले पनि उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार नेपालमा उपलब्ध स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक परे छिमेकी मुलुकबाट उपकरण र प्राविधिक टोली तत्काल ल्याउन सकिने अवस्था थियो।

सरकारले ढिलै भए पनि विदेशी उद्धार टोलीलाई नेपालमा काम गर्ने अनुमति दिएपछि चिनियाँ र भारतीय टोली नेपाल आएका छन्। अब उनीहरूलाई सम्बन्धित आयोजनासँग प्रभावकारी समन्वय गरी तत्काल उद्धारमा परिचालन गर्नुपर्ने दबाब बढेको छ।

सम्बन्धित समाचार