काठमाडौं । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरोको जोखिम बढेपछि चितवन हुँदै सञ्चालन हुने प्रमुख सडकमार्गहरू पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौं जाने तथा आउने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ।
रसुवास्थित भोटेकोशी नदीमा पुनः बाढीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा तत्कालका लागि यात्रा स्थगित गरी आफू र परिवारको सुरक्षालाई प्राथमिकता दिन सर्वसाधारणलाई अपिल गरेको छ।
बाढीको जोखिमका कारण चितवनतर्फबाट काठमाडौं, पोखरा तथा अन्य गन्तव्यतर्फ जाने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक तथा नदीको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
यसअघि रसुवाबाट भोटेकोशीमा पुनः बाढीको ठूलो आवाज सुनिएपछि रसुवा, नुवाकोट र धादिङका तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको थियो।