काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै केरुङमा बाढीपछि १०४ जना नेपालीसहित कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जनाएको हो ।
सार्वजनिक विवरणअनुसार बेपत्ता विदेशी नागरिकमध्ये नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ । भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६–६ तथा दक्षिण अफ्रिकाका चार जना रहेका छन् ।
त्यस्तै जर्मनी, मलेसिया र रूसका तीन–तीन जना, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई–दुई जना तथा फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका एक–एक जना बेपत्ता भएको सीजीटीएनले जनाएको छ ।
चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकका सम्बन्धमा चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेका छन् ।
यद्यपि, आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
केरुङ क्षेत्रमा आएको बाढीले नेपालतर्फ पनि ठूलो जनधनको क्षति गरेको छ । बाढीपछि नेपाल–चीन सीमाक्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ ।