त्रिशूली–३ ‘ए’ सुरुङमा छिचोलियो प्वाल, अक्सिजन र लाइट पठाइयो
1.2k
Shares
काठमाडौँ । रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि ड्रिलिङ मेसिनमार्फत केबल टनेलसम्म प्वाल छिचोलिएको छ।
आइतबार राति ड्रिलिङको काम सम्पन्न भई केबल टनेलसम्म प्वाल पुगेपछि त्यहाँको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र रहेका श्रमिकको सहजताका लागि कम्प्रेसरसहित अक्सिजनयुक्त हावा तथा मार्गदर्शनका लागि बत्ती पठाइएको छ। उनीहरू सुरक्षित अवस्थामा रहेको अनुमान गरिएको छ।
अविरल वर्षा र नदीको सतह बढेका कारण उद्धार कार्यमा केही समय अवरोध भए पनि अहिले पुनः तीव्र गतिमा काम भइरहेको छ। यसअघि पनि उद्धार टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटर तथा अन्य उपकरण प्रयोग गरी सुरुङको बाहिरी भागमा जमेको लेदो र भग्नावशेष हटाउँदै प्रवेशमार्ग खोल्ने प्रयास गरेको थियो।
अब बनाइएको प्वाललाई थप ठूलो बनाएर मानिस प्रवेश गर्न सक्ने बनाउने तयारी भइरहेको छ। त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर थुनिएका श्रमिकलाई बाहिर निकाल्ने योजना छ।
आयोजनास्थलमा प्राविधिक टोलीले थप ड्रिलिङ कार्य निरन्तर गरिरहेको छ। उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालित छन्।
यसअघि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नियन्त्रित विस्फोटसमेत गरिएको थियो। सुरुङमा फसेकाहरूको उद्धारका लागि कठिन भूगोल, लेदो, भग्नावशेष र प्रतिकूल मौसमका बीच उद्धार कार्य अघि बढाइएको हो।