बाढीपछि नुवाकोटमा खानेपानीको हाहाकार, होटलसमेत बन्द हुन थाले

1.1k Shares

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर र बट्टारलगायत क्षेत्रमा खानेपानीको अभाव भएको छ। बाढीले खानेपानीको पाइपलाइनमा क्षति पुर्‍याएपछि घरघरमा पानीको समस्या देखिएको हो।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार नगरपालिकाले दमकल र ट्याङ्करमार्फत टोलटोलमा पानी पुर्‍याइरहेको भए पनि मागअनुसार पर्याप्त हुन सकेको छैन।

‘नगरपालिकासँग दमकल र ट्याङ्कर छ, त्यसमार्फत हामीले टोलटोलमा घरघरमा पुर्‍याउने काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘यो पर्याप्त भएन, घरघरमा खानेपानीको अभाव भएको छ।’

पानीको अभावका कारण स्थानीयलाई खाना पकाउने, नुहाउने तथा लुगा धुनेजस्ता दैनिक काम गर्नसमेत समस्या भएको छ। नगरपालिकाले ट्याङ्कर र दमकलमार्फत उपलब्ध गराएको पानी सबै घरधुरीसम्म पुग्न सकेको छैन।

खानेपानीको अभावकै कारण विदुर र बट्टार क्षेत्रमा सञ्चालित होटलहरू पनि बन्द हुने अवस्थामा पुगेका छन्। मुहानमा ठूलो क्षति नभए पनि पानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेकाले समस्या भएको उपप्रमुख बोगटीले बताइन्।

बाढी प्रभावितका लागि सञ्चालन गरिएका क्याम्पमा भने राहत सामग्रीसँगै पानीका जार तथा मिनरल वाटरसमेत उपलब्ध गराइएको छ। तर ती सामग्री पनि पर्याप्त नभएको स्थानीय तहले जनाएको छ।

बाढीका कारण खानेपानी आपूर्ति प्रणालीमा पुगेको क्षति तत्काल मर्मत हुन नसक्दा स्थानीयले खाना पकाउनेदेखि सरसफाइसम्मका अत्यावश्यक कामका लागि पानीको समस्या कहिलेसम्म झेल्नुपर्ने हो भन्ने अनिश्चित बनेको छ।

सम्बन्धित समाचार