काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोपछि उद्धार, राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताएका छन्।
एमाले महासचिव शंकर पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने क्रममा आइतबार च्यासलमा बोल्दै ओलीले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने बताए।
देश अहिले दुःख र शोकमा रहेकाले शोकमा मात्रै सीमित नभई पीडितको पीडा कम गर्ने काममा सबै जुट्नुपर्ने ओलीको भनाइ छ। उनले मानवीय क्षति अपूरणीय भएकाले भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिए पनि ज्यान गुमाएकालाई फर्काउन नसकिने बताए।
ओलीले विपत्तिलाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिएर राजनीतिक प्रतिस्पर्धा तथा श्रेयको होडबाजी नगरी साझा रूपमा संकट समाधान गर्नुपर्ने बताए। उनले राज्यकोष उदारतापूर्वक परिचालन गरेर नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा खर्च गर्न सरकारलाई आग्रह गरे।
ओलीले विपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तहका तीनै सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले केन्द्र सरकारको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर उद्धार तथा राहतका काम अघि बढाउनुपर्नेमा पर्याप्त समन्वय हुन नसकेको आरोप लगाए। सरकारसँग साधनस्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको उनको गुनासो थियो।
‘सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको छ। सरकार एक ढंगले भन्दा अगम्य, अप्राप्य स्थितिमा छ। अदृश्य जस्तो अवस्थामा सरकार छ,’ ओलीले भने।
ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षता र अनुभव भएका माउन्टेनियर तथा रेस्क्यु संस्थालाई समेत परिचालन गर्नुपर्ने बताए।
उनले यस्ता संस्थासँग रहेको दक्षता र अनुभवलाई सरकारले उपयोग गर्नुपर्नेमा उनीहरूलाई खोज कार्यमा सहभागी नगराइएको बताए।
विपद्को समयमा सबै राजनीतिक दलले श्रेयको होडबाजी नगर्ने र सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै ओलीले साझा प्रयासबाट मात्रै ठूलो विपत्तिको सामना गर्न सकिने बताए।
ओलीले बाढीपीडितका लागि एमालेले पठाएको राहत सामग्रीका विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले तोडमोड गरेर प्रचार गरेको आरोप पनि लगाए।
उनले एमालेले प्रभावित क्षेत्रमा राहत सामग्री पठाइरहेको र स्थानीय तहमा त्यसको वितरणसमेत भइरहेको दाबी गरे। पार्टीको राहत अभियानलाई गलत ढंगले प्रस्तुत गरेर एमालेलाई बदनाम गर्न खोजिएको उनको आरोप थियो।
ओलीले रसुवामा आइतबार आएको बाढी पनि निकै ठूलो र विनाशकारी रहेको बताएका छन्। उनले स्थानीय जनप्रतिनिधिहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको जानकारी दिए।
उनका अनुसार आइतबार आएको बाढीले यसअघि जोगिएका कतिपय घरसमेत बगाएको छ। बाढीको बहाव ठूलो भए पनि करेन्ट भने यसअघिको तुलनामा केही कम रहेको ओलीले बताएका छन्।
उनले विपत्तिको समयमा राजनीतिक विवाद र आरोप–प्रत्यारोपलाई थाती राखेर तत्काल उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित हुनुपर्नेमा पुनः जोड दिए।