नवलपरासी । पूर्वी नवलपरासीको कावासोती–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा बाढीमा बगेर आएका २० बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिएको छ। स्थायी तथा अस्थायी शवगृहको क्षमता भरिएपछि अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्डअनुसार शव व्यवस्थापन गरिएको हो।
मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी संकेत नम्बर राखेपछि व्यवस्थापन गरिएको जनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहने र पछि पहिचान खुलेमा सम्बन्धित परिवारलाई जिम्मा लगाउन सकिनेछ।
रसुवालगायतका क्षेत्रमा आएको बाढी–पहिरोपछि खोज तथा उद्धारका क्रममा फेला परेका शव गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिचान तथा डीएनए परीक्षण भइरहेको छ।
गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नदी किनारमा हालसम्म १९४ शव फेला परेको र तीमध्ये ९ जनाको पहिचान खुलेर आफन्तलाई बुझाइएको खबरहबले जनाएको छ।