नदी किनारमा शव भेटिने क्रम जारी, चितवनमा १९९ शवको व्यवस्थापन

1.1k Shares

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये पहिचान खुल्न नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ शव फेला परेका छन् । तीमध्ये १९९ शवको व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भएको छ ।

सनाखत भएका शव आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

पहिचान खुल्न नसकेका शव व्यवस्थापन गर्दा भविष्यमा पनि पहिचान गर्न सकिने गरी आवश्यक प्रमाण सुरक्षित राखिएको छ । प्रत्येक शवको डिएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएको डिएनए नमुनासँग भविष्यमा मिलान गर्दा पहिचान खुलेमा व्यवस्थापन गरिएको स्थानबाट शव निकालेर परिवारलाई बुझाउन सकिने गरी आवश्यक सङ्केत चिह्नसमेत राखिएको छ ।

प्रहरीका अनुसार चितवनमा फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा मानव अवशेष रहेका छन् ।

भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा शव फेला पर्ने क्रम अझै रोकिएको छैन । नदी किनारमा खोजी तथा उद्धारको कामलाई निरन्तरता दिइएको छ ।

शवको खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

बाढीबाट बेपत्ता भएका व्यक्तिको खोजी जारी रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका शवको वैज्ञानिक अभिलेख तथा डिएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा आफन्तले दाबी गरेमा पहिचान गर्न सहज हुने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार