भोटेकोसी बाढीपीडित बालबालिकाको शिक्षा र पोषणको जिम्मा गाउँपालिकाले लिने

1.2k Shares

काठमाडौँ । रसुवाको भोटेकोसी खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले बेपत्ता परिवारका बालबालिकाको शिक्षा, पोषण र दीर्घकालीन पुनःस्थापनाका लागि विशेष योजना अघि बढाएको छ।

गाउँपालिकाका अनुसार बाढीमा ७३ परिवारका सदस्य बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ। परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि प्रभावित परिवारमा दैनिक गुजारा चलाउनदेखि बालबालिकाको शिक्षासम्म समस्या देखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई आर्थिक राहत दिने निर्णय गरेको छ। साथै, बेपत्ता भएका ७३ परिवारका सदस्य तथा उनीहरूको पारिवारिक अवस्थाको विस्तृत विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु लामाले बताए।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाले बेपत्ता परिवारसँग प्रत्यक्ष छलफल गरी उनीहरूको तत्काल आवश्यकता पहिचान गर्न थालेको छ। परिवारको अवस्थाअनुसार आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको उनले बताए।

बाढीबाट परिवारको आम्दानीको मुख्य स्रोत गुमेपछि बालबालिकाको भविष्य प्रभावित हुन सक्ने भन्दै गाउँपालिकाले शिक्षालाई पनि प्राथमिकतामा राखेको छ। प्रभावित परिवारका बालबालिकालाई दीर्घकालीन रूपमा सहयोग गर्ने योजना बनाइएको अध्यक्ष लामाले बताए।

यसैबीच, प्रभावित परिवारका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म पढाउने विषयमा गाउँपालिका र स्थानीय व्यवसायीबीच समन्वय सुरु भएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामाले परिवारको कमाउने सदस्य बेपत्ता भएपछि बालबालिकाको भविष्य अन्योलमा परेको भन्दै स्थानीय सरकार र व्यवसायी मिलेर उनीहरूको शिक्षाको जिम्मेवारी लिनुपर्ने बताए।

बाढी प्रभावितमध्ये धेरै परिवार दैनिक ज्यालादारी तथा सवारीसाधन चलाएर जीविकोपार्जन गर्दै आएका छन्। परिवारको आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि उनीहरू थप आर्थिक संकटमा परेको लामाले बताए। त्यसैले स्थानीय व्यवसायीसँग समन्वय गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काम अघि बढाइएको उनको भनाइ छ।

गाउँपालिकाले राहत तथा पुनःस्थापनाका विषयमा सर्वदलीय बैठकसमेत गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालका अनुसार बेपत्ता परिवारको वास्तविक अवस्था पहिचान गर्न तथ्यांक संकलन भइरहेको छ। प्रत्येक परिवारमा कति सदस्य छन्, उनीहरूको अवस्था कस्तो छ र तत्काल कस्तो सहयोग आवश्यक छ भन्ने विवरण संकलन गरेर राहत तथा पुनःस्थापनाको योजना बनाइनेछ।

गाउँपालिकाले तत्काल खाद्यान्न तथा आर्थिक राहत उपलब्ध गराउनुका साथै बालबालिकाको शिक्षा, दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनका लागि स्थानीय सरकार, व्यवसायी तथा अन्य सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।

सम्बन्धित समाचार