काठमाडौँ । नेपाल सरकारले विनाशकारी बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएकाहरूको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बाढीपीडितको पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन सिंगापुरसँग आवश्यक प्राविधिक सहयोग माग गरिएको हो।
सरकारले शव पहिचानका लागि सिंगापुरसँगै अन्य मित्रराष्ट्रबाट समेत आवश्यक सहयोग लिने तयारी गरेको छ। यसअघि सरकारले फोरेन्सिक परीक्षण, जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, सुरुङ उद्धार तथा शव व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग मागिसकेको छ।
यसै क्रममा अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग मागिएको छ भने चीनसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भोटेकोसी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएपछि शवको वैज्ञानिक पहिचान सरकारका लागि चुनौती बनेको छ। पहिचान नखुलेका शवको डीएनएलगायत प्रमाण सुरक्षित राखेर मात्रै व्यवस्थापन गर्ने सरकारको तयारी छ।
भारतले यसअघि नै फोरेन्सिक टोली नेपाल पठाएर डीएनए नमुना संकलन तथा शव पहिचान प्रक्रियामा सहयोग गरिरहेको छ।