राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे रवि लामिछाने, बाढीको अवस्थाबारे गराए जानकारी

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी गराएका हुन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतका गतिविधि र सरकारले गरिरहेका कामबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।

लामिछानेले सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट गरेका थिए। प्रधानमन्त्री शाहसँग सरकारका तर्फबाट भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे जानकारी लिएपछि उनले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएको प्रवक्ता खरेलले बताए।

प्रधानमन्त्री शाहले पनि यसअघि राष्ट्रपति पौडेलसँग भेट गरी बाढीबाट भएको क्षति तथा सरकारका तर्फबाट भइरहेका उद्धार र राहतका कामबारे जानकारी गराइसकेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने काम जारी छ।

सम्बन्धित समाचार