काठमाडौँ । “टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ । तर केही मिनेटमै त्यही बाटो युद्धभूमिजस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोलाहल थियो । त्यो क्षण सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ ।”
रसुवाको विनाशकारी बाढीबाट जोगिएका सेवानिवृत्त सैनिक राजेन्द्र थापाले सुनाएको यो अनुभव भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीको भयावहता झल्काउने एउटा प्रतिनिधि घटना हो ।
बाढीले घर, सडक, पुल र बजार मात्रै बगाएन, मृत्युको मुखबाट जोगिएकाहरूको मनमा समेत जीवनभर नमेटिने त्रास छोडेको छ । “मैले पहिलो पटक जीवन र मृत्युबीचको दूरी कति छोटो हुन्छ भन्ने अनुभूति पाएँ,” थापाले भन्नुभयो ।
थापा आफ्ना साथीहरूसँग रसुवातर्फ जाँदै हुनुहुन्थ्यो । बाटोमा सामान्य चहलपहल थियो । केही क्षणमै ठूलो विपत्ति आउँदैछ भन्ने कसैले कल्पना गरेका थिएनन् ।
“अचानक ठूलो आवाज आउन थाल्यो । उत्तरतिर हेर्दा धुलोको मुस्लो उठेको देखियो,” उहाँले सम्झनुभयो । उहाँका अनुसार उनीहरूभन्दा अगाडि मोटरसाइकलमा गएका साथीहरूलाई रोक्न खोजिए पनि उनीहरू अगाडि बढिसकेका थिए । स्थिति असामान्य देखिएपछि केही मानिस सडक छाडेर माथितिर दौडिए ।
केही सेकेन्डमै उनीहरूले लिएको निर्णय जीवनरक्षक साबित भयो । उनीहरू भागेको ठाउँमा पछि सडकसमेत बाँकी रहेन । बाढीले सडकसहित आसपासको भूभाग बगाइसकेको थियो ।
“हामी सिधै उकालोतिर भाग्यौँ । पछि फर्केर हेर्दा तलको दृश्य युद्धजस्तो थियो । मानिसहरू कराइरहेका थिए, भागिरहेका थिए । हिलो, धुलो र पानीले सबै ढाकेको थियो,” थापाले भन्नुभयो ।
“त्यो दिन बाँचेकाहरू भाग्यले मात्रै बाँचेका हुन्,” उहाँले थप्नुभयो ।
अर्का प्रत्यक्षदर्शी अच्युतप्रसाद सुवेदीका लागि पनि त्यो दिन जीवनकै सबैभन्दा त्रासदीपूर्ण क्षण बन्यो । वेत्रावतीमा स्नान गरेर रसुवातर्फ उकालो लागेका उहाँहरूले सुरुमा ठूलो आवाज मात्रै सुन्नुभएको थियो । तर केही मिनेटमै त्यही आवाज विनाशको सङ्केत बन्यो ।
“उकालो चढ्न थालेको तीन मिनेट पनि भएको थिएन । मेरो आँखाअगाडि बाढीले सबै कुरा बगायो,” उहाँले भन्नुभयो ।केही मिनेटअघि मात्रै चिया खाएको होटल, वरपरका पसल र बजार हेर्दाहेर्दै पानीको भेलमा हराए । धेरैले बाढी आएकोसमेत थाहा पाउन पाएनन् ।
“सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरा जीवनमा पहिलो पटक बुझेँ । केही क्षण यताउता भएको भए हामी पनि त्यहीँ हुन्थ्यौँ,” सुवेदीले भन्नुभयो । बाढीसँगै सञ्चार सम्पर्कसमेत टुट्यो । मोबाइल नेटवर्क नहुँदा बाहिरी संसारसँगको सम्पर्क पूर्णरूपमा विच्छेद भयो ।
“एक्कासि नेटवर्क गयो । फोन लागेन । मानौँ संसारसँगको सम्पर्क नै टुट्यो । त्यसपछि केवल पानीको गर्जन र मानिसहरूको चिच्याहट मात्रै सुनिन्थ्यो,” उहाँले सम्झनुभयो ।
काठमाडौँका मातृका नेपालले देखेको बाढीको दृश्यले उहाँलाई हलिउड चलचित्रमा देखाइने सुनामीका दृश्य सम्झायो । “हामीसँग गएका केही साथी खोलामै बग्नुभयो । हामी केही मिटर माथि भएकाले बाँच्यौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार बाढीको पानी नदीको सामान्य बहावभन्दा निकै माथिसम्म पुगेको थियो । ठूलो जलराशिले आसपासको भूभाग नै ढाकेको थियो । “पानी खोलाभन्दा सयौँ मिटर माथि आएको थियो । मैले यति ठूलो जलराशि कहिल्यै देखेको थिइनँ,” उहाँले भन्नुभयो ।
त्यही कारण नेपालले उक्त घटनालाई ‘हिमाली सुनामी’को संज्ञा दिनुभएको छ । “चलचित्रमा सुनामी देखेको थिएँ । त्यो दिन प्रत्यक्ष त्यस्तै दृश्य देखेँ । मलाई त यो हिमाली सुनामी नै लाग्यो,” उहाँले भन्नुभयो ।
बाढीबाट जोगिएका मातृका नेपालका लागि अहिले सबैभन्दा कठिन अवस्था आफ्ना साथीहरूका परिवारसँग सामना गर्नु हो । “परिवारका सदस्यहरूले ‘हाम्रा मान्छे कहाँ छन् ?’ भनेर सोध्न थाल्नुभएको छ । मसँग उत्तर छैन,” उहाँले भावुक हुँदै भन्नुभयो ।
उहाँसँगै एउटै गाडीमा गएका केही साथीहरू अझै सम्पर्कविहीन छन् । आफू भने भिरमा उम्रिएको एउटा लहरामा अड्किएर बाँच्न सफल भएको उहाँले बताउनुभयो । “सायद त्यो लहरा नभएको भए म पनि बगिसक्थेँ,” उहाँले भन्नुभयो ।
प्रकृतिको अगाडि मानिसको शक्ति कति कमजोर हुन्छ भन्ने कुरा बाढीले आफूलाई सिकाएको उहाँको भनाइ छ ।
“प्रकृतिले चाहेमा हामी मेटिन कति पनि समय लाग्दो रहेनछ,” उहाँले भन्नुभयो ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले सयौँ परिवारलाई शोकमा डुबाएको छ । तर बाँचेकाहरूका अनुभवले विपत्तिका बेला तत्काल गरिने निर्णयको महत्व पनि देखाएको छ ।
कसैले धुलोको मुस्लोलाई सामान्य घटना ठाने, कसैले खतरा महसुस गरेर उकालो लागे । कोही मोटरसाइकलमै अगाडि बढे र बाढीमा परे भने कोही समयमै सुरक्षित स्थानतर्फ दौडिएर जोगिए । कोही लहरामा अड्किएर बाँचे, कोही भेलमा बेपत्ता भए ।
आज बाँचेकाहरू आफ्ना अनुभव सुनाइरहेका छन् । तर ती अनुभवभित्र एउटा साझा सत्य छ–प्रकृतिको एक झट्काले मानिसले बनाएका सबै योजना, सपना र निश्चितता क्षणभरमै बदलिन सक्छन् ।
भोटेकोशीको त्यो गर्जन केवल बाढीको आवाज थिएन । त्यो प्रकृतिको शक्तिको कठोर सम्झना पनि थियो, जसले एकै दिनमा धेरै मानिसको जीवनको परिभाषा बदलिदियो ।