काठमाडौंमा ग्यास अभाव हुन नदिन उपत्यकाबाहिरै सिलिन्डर भरिँदै

1.9k Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यकाबाहिरै ग्यास भरेर ल्याउन थालिएको छ।

ग्यास बोकेका बुलेट कृष्णभिरको सडकबाट आवतजावत गर्न नसक्ने भएपछि उपत्यका र आसपासका ग्यास उद्योगले वैकल्पिक व्यवस्थामार्फत अन्य जिल्लाका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउने भएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका ग्यास उद्योगसँग समन्वय गरेर ग्यास भर्ने व्यवस्था मिलाएका छन्।

उपत्यका र छिमेकी जिल्लामा मात्रै मुलुकको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको संघले जनाएको छ।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभिरको सडक सञ्चालनमा नआएसम्म अन्य जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइनेछ। ती उद्योगबाट भरिएका ग्यासका सिलिन्डर त्रिभुवन राजपथलगायत वैकल्पिक सडक प्रयोग गरी राजधानी ल्याउने व्यवस्था गरिएको छ।

उनका अनुसार उपत्यकाबाहिर रहेका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले काठमाडौं उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव हुने अवस्था छैन। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यासको जगेडा नराख्नसमेत आग्रह गरेका छन्।

श्री ग्यासले बाबा ग्यास, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेस्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। अन्य उद्योगले पनि राजधानीबाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्ने काम अघि बढाएका छन्।

कृष्णभिरको सडक अवरुद्ध भएपछि काठमाडौं आउने ग्यासका बुलेटहरू रोकिँदा आपूर्ति प्रभावित हुन सक्ने जोखिम देखिएपछि उद्योगीहरूले वैकल्पिक स्रोतबाट ग्यास भरेर राजधानी ल्याउने व्यवस्था मिलाएका हुन्।

सम्बन्धित समाचार