गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, दुई महत्वपूर्ण विधेयक पारित

1k Shares

लेखनाथ । गण्डकी प्रदेशसभाको १०औँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो।

गत जेठ ११ गतेदेखि सुरु भएको यस अधिवेशनमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, सालबसाली विधेयकसहित विभिन्न विधेयक पारित भएका छन्।

अधिवेशनका क्रममा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक पनि पारित भएका छन्।

गाँजा खेतीसम्बन्धी विधेयक प्रदेशसभाले पहिलोपटक असार २५ गते पारित गरी प्रदेश प्रमुखसमक्ष पठाएको थियो। तर, प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त विधेयक सङ्घीय कानुनसँग बाझिएको भन्दै पुनःविचारका लागि प्रदेशसभामै फिर्ता पठाउनुभएको थियो।

प्रदेशसभामा साउन ८ गते फिर्ता आएको विधेयकलाई प्रदेशसभाले हुबहु सर्वसम्मत रूपमा पुनः पारित गरेपछि प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गर्नुभएको थियो।

यसैगरी, भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयक भने अझै अर्थ तथा विकास समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका शाखा अधिकृत शशिधर सुवेदीले जानकारी दिनुभयो।

गण्डकी प्रदेशसभाको १०औँ अधिवेशनमा प्रदेशको नीति तथा कार्यक्रम, बजेट र कानुन निर्माणसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार