काठमाडौँ । पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गर्नुभएको छ।
भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको स्थलगत अनुगमन गरी धुन्चे फर्किएपछि सुरक्षा निकायसँग उद्धारका विषयमा छलफल गरेको घिसिङले बताउनुभएको छ।
उहाँका अनुसार भदौ १५ गते नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरी करिब २५० मिटरसम्म पुगेको थियो। सुरुङभित्र मानिस नभेटिएको जानकारी प्राप्त भएको पनि घिसिङले उल्लेख गर्नुभएको छ।
तर, आयोजनाका कर्मचारी सुरुङभित्रको पावर हाउसमा रहेको नियन्त्रण कक्षमा रहने भएकाले सुरुङभित्र मात्र खोजी गरेर उद्धार सम्भव नहुने उहाँको भनाइ छ।
घिसिङले अब पावर हाउससम्म पुग्ने वैकल्पिक बाटो पहिचान गरी उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नुभएको छ, “कर्मचारीहरू सुरुङभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएका कर्मचारीको उद्धार तत्काल गरिनुपर्छ।”
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी र पहिरोका कारण आयोजनाको सुरुङ तथा पहुँचमार्गसमेत प्रभावित भएका छन्।
प्रशासन र सुरक्षा निकायको टोलीले पहिरोका कारण अवरुद्ध बनेको सुरुङ सफा गर्दै उद्धार प्रयास जारी राखेको छ। पावर हाउसमा रहेका कर्मचारीको अवस्थाबारे यकिन हुन नसकेकाले उद्धारका लागि थप विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ।